
काठमाडौं, मंसिर १६ :
मेडिकल व्यवसायी तथा ‘नागरिक बचाउ महाअभियान’ का अध्यक्ष दुर्गा प्रसाईँ र प्रधानमन्त्री सुशीला कार्कीबीच आगामी आइतबार वार्ता हुने भएकेा छ।
महाअभियानका सचिव प्रेमदीप लिम्बुका अनुसार मंसिर २२ गते आइतबारका लागि प्रधानमन्त्री कार्यालयबाट औपचारिक पत्र आएको छ। सोही पत्रअनुसार दुई पक्षबीच छलफल तथा वार्ता तय भएको हो।
गत कात्तिक २६ गते गृहमन्त्री ओमप्रकाश अर्यालमार्फत सरकारलाई बुझाइएको प्रसाईँ समूहको २७ बुँदे मागबारे प्रधानमन्त्री कार्की र प्रसाईँबीच प्रत्यक्ष वार्ता हुन लागेको हो।
महाअभियानका सचिव लिम्बुका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा मंसिर ६ गते दुई पक्षबीच भएको १० बुँदे सहमतिको आधारमा आइतबारको वार्ता अघि बढाइनेछ। हाल भारतको नयाँ दिल्लीमा रहेका प्रसाईं बुधबार नेपाल फर्किने बुझिएको छ ।