
प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न सेनालाई निर्देशन दिएकी छन्।
शुक्रबार नेपाली सेनाको जंगी अड्डामा पुगेकी उनले निर्वाचन सुरक्षासम्बन्धी तयारीबारे अवगत हुँदै ‘आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन, एक जना पनि घाइते हुनु हुँदैन’भन्ने आफ्नो अडान पुनः दोहोर्याइन्।
प्रधानमन्त्री कार्कीले विगतका चुनावका अनुभव र सम्भावित सुरक्षा चुनौतीको समग्र विश्लेषण गरी सबै सुरक्षा निकायबीच समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न सेनालाई निर्देशन दिइन्।
जेन-जी आन्दोलनका क्रममा लुटिएका तथा हराएका हातहतियारको खोजी, नियन्त्रण र फरार अभियुक्त पक्राउका लागि प्रहरीले चलाइरहेको अभियानमा सक्रिय समन्वय गर्न पनि उनले सेनालाई आग्रह गरिन्। ‘प्रहरीलाई सहयोग गर्न कुनै कमी हुन दिनुहुन्न,’उनले भनिन्।
उनका अनुसार जनतालाई सुरक्षाको भरोसा दिलाउन, प्रहरी कारबाहीलाई सहज बनाउन र राजनीतिक गतिविधि अवरोधविनै सञ्चालन हुने वातावरण तयार गर्न सेनाले स्पष्ट कार्ययोजनासहित अघि बढ्नुपर्नेछ।
प्रधानमन्त्रीले आन्दोलनपछि गठित सरकारले मुलुकमा शान्ति–सुरक्षा कायम राख्दै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने राष्ट्रिय जिम्मेवारी रहेको उल्लेख गरिन्। उनले नेपाली सेनाले आफ्नो दायित्व प्रभावकारी रूपमा पूरा गर्ने विश्वास पनि व्यक्त गरिन्।
कार्यक्रममा सेनाले वर्तमान सुरक्षा अवस्था, चुनौती र आगामी योजनाबारे प्रस्तुतिकरण गरेको थियो।