
प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेनजी अगुवा मिराज ढुंगाना समूहले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ ।
वर्तमान सरकार जेनजीको भावना विपरीत अघि बढ्न खोजेकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागका साथ सो समूहले बुधबार प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गरेका हुन् । उनीहरुले प्रधानमन्त्री राजीनामा देउ, जेनजीका माग पुरा गर, दोषिलाई कारवाही गर लगाएतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।
प्रधानमन्त्री निवासको गेटबाहिर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई त्यहाबाट हटाएको थियो । सो क्रममा जेनजी अगुवा मिराज ढुंगानाले जनेजी आन्दोलनको मर्म विपरीत सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रीत भएकाले आफूहरु विरोधमा उत्रिएको बताए । उनले आफूहरुले अघि सारेको ९ बुँदे मागमा सम्बोधन नभएसम्म विरोध जारी रहने भन्दै अहिलेको अवस्थामा हुने निर्वाचनले देशलाई निकास नदिने उल्लेख गरे। उनले जेनजी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गर्नुपर्ने, सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गर्नुपर्ने बताए ।
त्यस्तै जेनजी आन्दोलनका क्रममा भएको दमन र आगजनीमा संलग्नमाथि काराबाही हुनुपर्ने उनीहरुले जनाएका छन् । यसअघि मंगलबारपनि सो समूहले सिंहदरबार आसपास प्रदर्शन गरेका थिए । आफूहरुको जायज माग प्रधानमन्त्रीलाई बुझाउन खोज्दा प्रधानमन्त्रीले समय नदिएको उनीहरुको आरोप छ ।