काठमाडौं, मंसिर ९ :

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेकपा एमालेसहित निर्वाचन आयोगमा हालसम्म ८०  दल दर्ता भएका छन् । 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा हालसम्म दर्ता कायम भएका १३२ दलमध्ये ८० दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको जानकारी दिए ।

मंसिर १० गते सम्म प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता जारी रहने उनले बताए । एमाले र राप्रपाले मंगलबार नै आयोग पुगेर निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको थियो । 

निर्वाचन आयोगले निष्पक्ष रुपमा निर्वाचन गर्ने प्रयत्न गरिरहेको भन्दै प्रवक्ता भट्टराईले दलहरुको अधिकतम सहभागीताले निष्पक्ष निर्वाचनलाई थप सुनिश्चित गर्ने वातावरण निर्माण हुने उल्लेख गरे । 

त्यस्तै उनले निर्वाचनका लागि बजेट अभाव नहुने बताए । उनले निर्वाचन प्रयोजनका लागि अर्थमन्त्रालयको तर्फबाट ४ अर्ब ९६ करोड रुपैया बजेटको स्रोत सुनिश्चिता भएको जानकारी दिए ।