काठमाडौँ, ६ साउन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा दुईवटा बस खस्दा  बेपत्ता भएका यात्रुहरुको खोजी गर्न दुई सयभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । खोजीकार्यमा सुरक्षाकर्मीसँगै चितवन पुगेको भारतीय प्राविधिक टोलीले आज बिहानैदेखि घटनास्थल सिमलतालबाट खोजी थालेको हो ।

चितवनका प्रहरी उपरीक्षक भावेश रिमालले नेपाली सुरक्षाकर्मीसहित भारतीय प्राविधिक टोलीले खोजीकार्य अघि बढाएको जानकारी दिनुभयो । हिजो आवश्यक उपकरणसहित चितवन पुगेको टोलीले जिल्लास्थित सुरक्षा समितिसँत छलफल गरेको थियो । भारतको ‘राष्ट्रिय आपदा मोचन बल (एनडीआरइफ)’ का १२ जनाको प्राविधिक टोली चितवन आइपुगेको हो ।टोलीले ३० मिटर गहिराइसम्मको वस्तु सङ्केत गर्नसक्ने सोनार क्यामेरालगायत प्रविधि प्रयोग गरिरहेको छ ।  

गृहमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच केही दिनअघि भएको शिष्टाचार भेटमा सिमलताल पहिरोमा परी बेपत्ता भएका यात्रुको खोजी गर्न अत्याधुनिक प्रविधिसहित सहायता उपलब्ध गराउनेबारे छलफल भएको थियो । घटनापछि लगातार सुरक्षा निकाय खोजी कार्यमा जुटेको छ । हालसम्म बेपत्ता २५ जनाको शव भेटिएको छ । सात जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खोजीकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र भारतीय प्राविधिक टोली परिचालन गरिएको छ ।