
काठमाडौं, मंसिर ३ :
राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गराएको छ। प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आएको एमालेले नियमित प्रक्रियाअन्तर्गत दल दर्ता सम्पन्न गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
दल दर्ता भए पनि प्रतिनिधिसभा पुनःस्थापनाबारे एमालेको राजनीतिक एजेन्डा यथावत रहेको पार्टीले जनाएको छ।मंगलबार बसेको एमालेको विघटित संसद्को संसदीय दलको बैठकले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको थियो। रिट निवेदन दर्ताका लागि एमालेले पूर्व प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई जिम्मेवारी दिएको छ।