काठमाडौं, कात्तिक १८ :

कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की  संयुक्त शहर तथा स्थानीय सरकार एशिया-प्रशान्त (यूसीएलजी एसप्याक) को परिषद् सदस्यमा निर्वाचित भएका छन् । कार्कीको कार्यकाल सन् २०२५देखि २०२७ सम्म रहनेछ । कोरियाको गोयाङमा हालै सम्पन्न १० औं यूसीएलजी कांग्रेसमा भएको निर्वाचनले कार्कीलाई निर्वाचित गरेको हो।

यस निर्वाचनले दक्षिण र दक्षिणपश्चिम एसियाका सदस्यहरूले कागेश्वरी मनोहराको नेतृत्वमाथि  उच्च विश्वास र भरोसा राखेको स्पष्ट हुन्छ । साथै नगरप्रमुख  कार्कीलाई एसिया प्रशान्त क्षेत्रका स्थानीय सरकारहरूको हित र नीतिहरू निर्माण गर्ने प्रमुख निकायमा प्रत्यक्ष प्रतिनिधित्व गर्ने अवसर प्रदान गरेको छ।

मेयर कार्कीको अनुभव र दूरदृष्टिले यूसीएलजी एसिया-प्रशान्तको कार्य र समग्र यस क्षेत्रको दिगो विकासमा महत्त्वपूर्ण योगदान पुग्ने नगरवासी तथा कर्मचारी परिवारले विश्वास व्यक्त गरेका छन् ।

 के हो यूसीएलजी एसप्याक ?

यूसीएलजी एसिया-प्रशान्त परिषद् संस्थाको प्रमुख नीति निर्माण गर्ने निकाय हो। मेयर कार्कीले अब क्षेत्रीय साधारण सभाले निर्धारण गरेका सामान्य नीतिहरूको कार्यान्वयन सुनिश्चित गर्दै संस्थाका नीतिहरू निर्णय गर्नमा महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ।

यूसीएलजी एसिया-प्रशान्त स्थानीय सरकारहरूको सबैभन्दा ठूलो क्षेत्रीय संस्था हो, जसले यस क्षेत्रमा दिगो विकासलाई प्रवर्द्धन गर्न र शहरी चुनौतीहरूको सामना गर्न स्थानीय निकायहरूको हितको पक्षमा वकालत गर्दै, संवादलाई सहजीकरण गर्दै र सहयोगलाई बढावा दिँदै आएको छ।

मेयर कार्कीको दुई वर्षे कार्यकाल औपचारिक रूपमा सुरु भएको छ। यो उपलब्धिले कागेश्वरी मनोहरा नगरपालिकालाई क्षेत्रीय शासन र शहरी विकास संवादमा एक प्रमुख खेलाडीको रूपमा अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरेको छ।