तेलंगना, कात्तिक १७ :

तेलंगनाको रंगा रेड्डी जिल्लामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ । सोमबार बिहान रंगा रेड्डी जिल्लाको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

भारतीय समाचार एजेन्सी एएनआई का अनुसार बसमा सवार २० जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तेलंगनाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले घटनाप्रति शोक व्यक्त गर्दै पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार रुपैयाँ प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रदान गरिनेछ।