काठमाडौं, कात्तिक १६ :

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार पनि अन्तिम समयमा आएर स्थगित गरिएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक १८ कात्तिकका लागि सारिएको हो।

यसअघि शुक्रबार बस्ने भनिएको बैठक पनि बस्न सकेको थिएन। लगातार दुईपटक बैठक स्थगित हुनुको कारण पार्टीभित्र १५औं महाधिवेशनको मितिबारे उत्पन्न विवाद नै हो।

शनिबार सानेपास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सहमतिको प्रयास गरे पनि निष्कर्षमा पुग्न सकेको थिएन। बैठकमा महामन्त्री र संस्थापन पक्षबीच फरक–फरक कार्यतालिका प्रस्ताव प्रस्तुत भएपछि सहमति जुट्न नसकेको बताइएको छ।

महामन्त्री विश्वप्रकाश शर्माले महासमिति सदस्यबाट महाधिवेशनको निर्वाचन महासमिति बैठकअघि गर्ने वा पछि गर्ने भन्ने विषयमा मतदान गर्नुपर्ने प्रस्तावसमेत गरेका थिए।

बैठक सरेको अवधिमा कार्यतालिका र मिति निर्धारणमा सहमति खोज्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्री र शीर्ष नेतासँग छलफल गर्ने तयारी गरेका छन्। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार स्थगित बैठक अब १८ कात्तिक दिउँसो १ बजे बस्नेछ।