बुटवल, कात्तिक १३ :

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन वापतको बक्यौता महशुल नतिरेको भन्दै विद्युत लाइन काटेपछि रुपन्देहीका उद्योगीले बिहीबार झरीकै बीच विरोध प्रदर्शन गरेका छन्।

सिद्धार्थ उद्योग वाणिज्य संघको अगुवाइमा भएको प्रदर्शनमा बन्द उद्योगका कर्मचारी, मजदुर, विभिन्न उद्योग वाणिज्य संघ र रुपन्देही उद्योग संघका सदस्य सहभागी थिए। उनीहरूले उद्योगले माग नै नगरेको ट्रंकलाइन वापतको महशुल तिर्न बाध्य बनाइएको भन्दै आक्रोश व्यक्त गरे।

भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष कमल गौतमको मृत्यु
 

प्रदर्शनका क्रममा मजदुरहरूले रोजगारी खोस्न नहुने र ट्रंकलाइन खपतका लागि माग गरेको प्रमाण सार्वजनिक गर्न माग गरे। सहभागीहरूले ‘प्रमाण देखाएपछि मात्रै महशुल तिर्छौं’ भन्दै नाराबाजीसमेत गरे।

संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले उद्योगीहरूले उपयोग नै नगरेको विद्युतको बिल असुल्न खोजिएको भन्दै प्राधिकरण र सरकारको प्रतिशोधपूर्ण व्यवहारको विरोध गरेका हुन्। उनले शान्तिपूर्ण आन्दोलन जारी राख्ने चेतावनी दिए।

प्रदर्शनमा तिलोत्तमा उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ बुटवल, रुपन्देही उद्योग संघ, विभिन्न श्रमिक संघ र जिफन्ट नेपालले ऐक्यबद्धता जनाएका छन्।