काठमाडौं, कात्तिक ११ :

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी (पासपोर्ट) रोक्का र स्थान हद तोक्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

अधिवक्ता प्रेमराज सिलवालले मंगलबार ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोक्का तथा आवागमन सीमित गर्ने निर्णयविरुद्ध रिट पेस गरेका हुन्।

भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पश्चात् छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरूको राहदानी रोक्का र स्थान हद तोक्ने निर्णय गरेको थियो।

अधिवक्ता सिलवालले उक्त निर्णय गैरकानुनी र नागरिकको मौलिक अधिकारविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटमा राहदानी रोक्का र स्थान हद तोक्ने निर्णय तत्काल खारेज गर्न र भविष्यमा कसैलाई यसरी रोक नलगाउन परमादेश जारी गर्न माग गरिएको छ।