
जापानले आफ्नो राजनीतिक इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ। सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)की नेतृ सानाई टाकाइची देशको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्।
मंगलबार संसद्को तल्लो सदन (प्रतिनिधि सभा) बाट प्रधानमन्त्रीका लागि भएको मतदानमा टाकाइचीले आवश्यक बहुमत पार गर्दै नयाँ प्रधानमन्त्री बन्ने निश्चित गरेकी हुन्। बीबीसीका अनुसार ४६५ सदस्यीय प्रतिनिधि सभामध्ये २३७ मत प्राप्त गर्दै उनले २३३ को बहुमत सीमा पार गरेकी हुन्।
६४ वर्षीया टाकाइचीले आज साँझ प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेको जनाइएको छ।
टाकाइचीको नेतृत्व उदाउँदै गर्दा, पूर्व प्रधानमन्त्री शिगेरु इशिबा ले भने संसद्को दुवै सदनमा बहुमत गुमाएपछि पद गुमाएका छन्। इशिबा गत अक्टोबरमा प्रधानमन्त्री नियुक्त भएका थिए, तर उनको कार्यकाल छोटो रह्यो।
संसदीय प्रणाली अनुसार एलडीपीको नेतृत्वमा फेरबदल भएपछि नयाँ प्रधानमन्त्री चयनका लागि मतदान गरिएको थियो। एलडीपीभित्रको आन्तरिक चुनाव जितेपछि संसदमा समर्थन जुटाउँदै टाकाइचीले प्रधानमन्त्री पदमा प्रवेश गरेकी हुन्।
सानाई टाकाइची जापानी राजनीतिमा एक प्रभावशाली महिला नेतृको रूपमा परिचित छिन्। लामो समयदेखि एलडीपीमा सक्रिय भूमिका खेल्दै आएकी उनी रूढीवादी विचारधारा तथा प्रविधि र सञ्चार नीतिमा विशेष चासो राख्ने नेतृको रूपमा चिनिन्छिन्।
उनको यो ऐतिहासिक जितसँगै जापानमा महिला नेतृत्वको सम्भावनाले नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।