काठमाडौं, असोज ३१ :

 नेपाली सेनाले आफूहरू राजनीति नगर्ने स्पष्ट पारेको छ । शुक्रबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सैनिक अधिकारीहरूले जेनजी आन्दोलनपछिको अवस्थालाई सम्हाल्न गरिएको हस्तक्षेप शान्ति सुरक्षा कायम गर्न मात्र भएको दाबी गरे ।

पत्रकार सम्मेलनमा बोल्दै युद्ध कार्य विभाग प्रमुख उपरथी अनुपजंग थापाले नेपाली सेनाले अवस्था थप जटिल नबनियोस् भन्ने उद्देश्यले मात्र आवश्यक पहल गरेको बताए ।

सिंहदरबार जोगाउन परेको भए ठूलो क्षति हुन सक्थ्यो

उपरथी थापाले आन्दोलन उत्कर्षमा पुग्दा सिंहदरबार लगायतका संरचनाहरू जोगाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै भने, ‘त्यो अवस्थामा ठूलो मानवीय क्षति हुने जोखिम थियो । त्यसकारण हामीले सबै पक्षसँग छलफल गरेर शान्तिपूर्ण निकास खोज्यौं ।’

उनले भदौ २४ को राति सेनाले जे प्रयास गर्‍यो, त्यो नगरेको भए स्थिति भयंकर हुन सक्ने चेतावनी पनि दिए । ‘विश्वका विभिन्न देशमा देखिएका अन्य मोडलअनुसार कुरा अगाडि बढेको भए के हुन्थ्यो भनेर एक क्षण सोच्नुपर्छ,’ उनले भने ।

जेनजी आन्दोलनमा मारिने २२ जना मात्रै प्रदर्शनकारी

नेपाली सेनाले आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना मात्रै जेनजी प्रदर्शनकारी भएको स्पष्ट पारेको छ । बाँकी ३ जना नेपाल प्रहरी, १० जना कैदीबन्दी, ४१ जना अन्य रहेको सेनाको रिपोर्टमा उल्लेख छ । त्यसमध्ये १२ जनाको सनाखत अझै हुन बाँकी छ । २३ गते गोली लागेर सडकमा ढलेका र अस्पतालमा मृत्यु भएका मध्ये २२ जना प्रदर्शनकारी थिए, सेनाले स्पष्ट पारेको छ ।

६१ जना भीआईपीको उद्धार

गत भदौ २४ गते जेन-जी आन्दोलनमा नेपाली सेनाले हेलिकप्टरबाट नेतासहितका ६१ जना भीआईपीको उद्धार गरेको जनाएको छ ।मन्त्रीहरूको सरकारी निवास भैंसेपाटी, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शीतल निवाससहितका स्थानबाट ६१ जना विशिष्ठ व्यक्ति र तिनका परिवारको उद्धार गरिएको जनाएको छ ।