
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशसभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ। सिंह महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।
अख्तियारले सार्वजनिक गरेको विवरणअनुसार, सिंहले विद्यालय, मन्दिरलगायत विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कुल रकममध्ये १ करोड ३६ लाख २७ हजार ४८१ रुपैयाँमध्ये झन्डै २८.२५ प्रतिशत रकम रु. ३८ लाख ५० हजार ३१९ लाई घुसस्वरूप लिई आफ्नो र श्रीमतीको संयुक्त खातामा राखेका थिए।
साथै, उक्त रकमको केही हिस्सा सिंहले आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थको खातामा समेत जम्मा गराएको पाइएको छ।
सिंहसँगै भ्रष्टाचार अभियोगमा रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासवान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
आयोगका अनुसार, आरोपितहरूले उपभोक्ता समितिहरूको नाममा आएको रकम दुरुपयोग गरेका छन्। यस घटनालाई लिएर अख्तियारले आवश्यक प्रमाण संकलन गरी अदालतमा अभियोगपत्र दर्ता गरेको हो।