काठमाडौं, भदौ १७ :

न्याय परिषद्‌ले ६ जना जिल्ला न्यायाधीश नियुक्त गरेको छ । मंगलबार बसेको परिषद्‌को बैठकले न्याय सेवा, कानुन सेवा र सरकारी वकिल समूहबाट विभिन्न पदाधिकारीलाई जिल्ला न्यायाधीशमा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको बैठकले गोकुलबहादुर निरौलालाई जिल्ला अदालत कैलाली,अरुणकुमार कोइरालालाई जिल्ला अदालत डडेलधुरा,कुलप्रसाद दाहाललाई जिल्ला अदालत कालिकोट,सूर्यप्रसाद भण्डारीलाई जिल्ला अदालत कञ्चनपुर, अनुपमा पन्तलाई जिल्ला अदालत धनुषा र विश्वदीप वेस्राललाई जिल्ला अदालत रौतहटमा नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकले चार जना न्याय सेवाका, एक जना सरकारी वकिल र एक जना कानुन सेवाका अधिकृतलाई नियुक्त गरेको हो।

संविधानको व्यवस्था अनुसार, जिल्ला न्यायाधीशका रिक्त पदमध्ये २० प्रतिशत सिफारिसका आधारमा, ४० प्रतिशत खुला प्रतियोगिताबाट र बाँकी ४० प्रतिशत कर्मचारी वा अधिवक्ताबाट अनुभवका आधारमा नियुक्त गरिने प्रावधान रहेको छ।