काठमाडौं, भदौ १४ :

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थतन्त्र बलियो बनाएर चिकित्सकका माग पुरा गर्नुपर्ने बताएका छन् ।

प्रजातन्त्रवादी चिकित्सक सङ्घको वार्षिक भेलाको अवसरमा काठमाडौंमा आयोजित ‘स्वास्थ्य सेवा, पार्टी नेतृत्व र राष्ट्रिय प्रगतिका लागि एकीकृत कदम’ विचार गोष्ठीमा उनले चिकित्सकको सेवा सुविधाका लागि सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।

‘सेवा सुविधा थप गर्ने भन्ने वित्तिकै अर्थतन्त्रसँग जोडिन्छ, देशको अर्थतन्त्र वृद्धि गर्ने थुप्रै क्षेत्र रहेको छ, त्यतातिर लागौँ, उहाँहरुको सेवा सुविधा बढाउन तिर लागौँ,’ पूर्वमन्त्रीसमेत रहेका गुरुङले भने ।

घरेलु मदिरालगायतलाई कर दायरामा ल्याउन सके अहिले बजेटमा ६ खर्ब रुपैयाँ थप गर्न सकिने भन्दै आफू कानुनमन्त्री हुँदा पटकपटक कानुन बनाउन प्रयास गरे पनि सफल हुन नसकेको उनको धारणा छ । ‘म कानुनमन्त्री हुँदा घरेलु मदिरालगायत थुप्रै क्षेत्रलाई करका दायरामा ल्याएर देशको अर्थतन्त्र बलियो बनाउन पटकपटक लागेँ तर सफल हुन सकिनँ,’ उनले भने ।