धनगढी, असोज १ :

सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेश सभामा संशोधित बजेट प्रस्तुत गर्ने भएको छ । 

तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटलाई संशोधन गरेर प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि नयाँ बजेट ल्याउन लागेको हो । 

तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले ३१ अर्ब ३२ करोड ९८ लाख रुपियाँको बजेट सदनमा प्रस्तुत गरेको थियो । 

तर सत्ता परिवर्तनका कारण सो बजेट प्रदेश सभाबाट पास हुन सकेन । 

तत्कालीन सरकारले प्रस्तुत गरेको बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेश सरकार अहिले सम्म बजेट विहीन छ । 

अघिल्लो सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटको प्राथमिकता सदनबाट पास भएकाले त्यसैको आधारमा रहेर सामान्य पुनरावलोकन गरी बजेट प्रस्तुत गर्ने प्रदेश सरकारको तयारी छ ।

बजेट सार्वजनिक गर्नका लागि आज दिउसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ । 

आज बस्ने प्रदेश सभामा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले बजेट प्रस्तुत गर्ने तयारी छ ।