काठमाडौं, भदौ ११ :

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आव ०८२/८३ का लागि कार्यसम्पादन सम्झौता गरेको छ । मन्त्री दीपक खड्का र मन्त्रालयअन्तर्गतका तीन सचिवबीच बुधबार सम्पन्न सम्झौतामा योजनागत कामलाई परिणाममुखी बनाउन प्रतिबद्धता व्यक्त गरिएको हो ।

सम्झौतामा ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी तथा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दीनानाथ मिश्र सहभागी थिए । कार्यक्रममा मन्त्री खड्काले गत वर्षको अनुभवलाई आधार बनाएर यसपटक सम्झौतामा उल्लेखभन्दा बढी उपलब्धि हासिल गर्ने विश्वास जनाए ।

‘बजेट र स्रोत सुनिश्चित भइसकेका आयोजना ढिलाइ नगरी अघि बढाउनुपर्छ । सचिव र आयोजना प्रमुखले अझ सक्रिय भूमिका खेल्नुपर्ने समय आएको छ,’ खड्काले भने । उनले अनलाइन प्रणालीमार्फत नियमित रिपोर्टिङ गर्ने व्यवस्था मिलाउने र प्रत्येक साता प्रगति मूल्यांकन गर्ने योजना पनि अघि सारे ।

मन्त्री खड्काले अन्तरमन्त्रालय तथा मन्त्रालयभित्रका विभागीय समन्वयलाई मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले समयमै काम सम्पन्न गर्न प्रतिबद्ध हुन पनि निर्देशन दिए । ‘देश बनाउने जिम्मा हामी सबैको हो। क्षमताको पूर्ण सदुपयोग गर्दै परिणाम निकाल्नुपर्छ,’ उनको भनाइ थियो ।

यसअघि साउन २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री केपी ओलीसँग ऊर्जामन्त्री खड्काबीच पनि आगामी वर्षको कार्यसम्पादन सम्झौता भएको थियो ।

मूल्यांकन प्रतिबद्धतामूलक हुने भएकाले कामको प्रत्यक्ष परिणाम देखिने गरी अघि बढ्नुपर्ने सिँचाइ सचिव दवाडीले बताइन् । उनले शतप्रतिशत प्रगतिलक्ष्य हासिल गर्ने दृढता जनाइन् ।

त्यस्तै सचिव दीनानाथ मिश्रले पनि सम्झौतामा उल्लेखित लक्ष्य कार्यान्वयन गर्दै संस्थाको उद्देश्य पूरा गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्रालयका विभिन्न महाशाखा प्रमुख र विभागीय महानिर्देशकहरूले पनि आफ्ना-आफ्ना क्षेत्रसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरेका थिए ।