पोखरा, भदौ २ :

खेल क्षेत्रको विकासको निम्ति पार्टीको निर्देशन कुरेर बस्न नहुने नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले बताएका  छन् ।

नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको गण्डकी प्रदेश समितिको प्रथम प्रदेश अधिवेशन उद्घाटन गर्दै उपसभापति गुरुङले खेल क्षेत्रमा कुनै पार्टी, धर्म, जात नहुने भन्दै खेल क्षेत्रलाई सबैभन्दा माथि राखेर सोच्नुपर्ने बताएका हुन् ।

पोखरामा भएको अधिवेशनमा उनले अनुशासनको उदाहरण मानिने खेल क्षेत्रबाट राजनीतिले अनुशासन सिक्नुपर्ने बताए । खेल क्षेत्र अनुशासनमा बाँधिएको हुन्छ, विभिन्न क्षेत्रलाई बाँध्न विभिन्न नीतिहरु बनाइरहेका हुन्छौं सबैको नीति भनेको राजनीति हो । राजनीति राम्रो भयो भने सबै नीति राम्रो हुन्छ त्यसैले राजनीति सुधार्न सबै लाग्नुपर्छ ।

नेपाली राजनीतिमा अनुशासन हराउँदै गएको उल्लेख गर्दै उनले अनुशासनको क्षेत्रमा अब्बल मानिएको खेल क्षेत्रबाट नेपाली राजनीतिले अनुशासन सिक्नुपर्ने धारणा राखे ।

कांग्रेस उपसभापति धनराज गुरुङ भन्छन्- राजनीतिक अराजकता रोक्न ठुला दल एकै ठाउँमा उभियौं

एक नेताले अर्को नेतालाई, एक पार्टीले अर्को पार्टीलाई खुल्याउने प्रवृत्ति बढेको भन्दै यस्तो अनुशासनहीन लोकतन्त्र/गणतन्त्र हुन नसक्ने उनको भनाइ छ । नेपाली राजनीतिमा स्वच्छ प्रतिस्पर्धा हुन नसकेको भन्दै राजनीतिमा स्वच्छ प्रतिस्पर्धा हुन नसक्दा लोकतन्त्र/गणतन्त्र धरापमा पर्दै गएको बताए ।

राष्ट्रियताको सवालमा पार्टी, जाति, भेग, समुदाय कुनै बहानमा विभाजन हुन नहुने भन्दै नेपालमा समाजवाद अझै आउन नसकेको बताए । उनले भने, ‘एउटा धनी मात्रै भइइरहने र अर्को गरिब मात्रै भइरहने यहाँ समाजवाद आएकै छैन ।’

लोकतन्त्र, गणतन्त्रलाई अप्ठ्यारो पर्दा मात्रै पार्टीको निर्देशन मान्नुपर्ने बताउँदै खेल क्षेत्रको विकासको लागि पार्टीको निर्देशन कुरेर बस्नुनपर्ने बताए । उनले भने, ‘नेपाल लोकतान्त्रिक खेलकुद संघ नेपाली काङ्ग्रेसको भातृ संगठन भए पनि खेल क्षेत्रको विकासका लागि पार्टीको निर्देशन कुरेर नबस्नुस् ।’