
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले स्वीकृति नलिई आयोजना गरिएको शैक्षिक मेला रोक्न आग्रह गरेको छ । इक्यानले कम्पनीले आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पत्र पठाएको हो ।
इक्यानले विभागलाई पत्र पठाउँदै जेभियर इन्टरनेसनल कलेजमा भइरहेको एजुकेसन फेयर रोक्न पत्र पठाएको हो । जेभियर इन्टरनेसनल कलेजको आयोजनामा आजदेखि काठमाडौंमा मेला सञ्चालन भइरहेको उल्लेख गर्दै, यस्तो कार्यक्रम रोक्न विभागलाई आग्रह गरिएको हो ।
इक्यानले जारी गरेको विज्ञप्तिअनुसार केही संस्था वा व्यक्तिले अनुमति नलिई शैक्षिक मेला सञ्चालन गर्ने तयारी गरिरहेका छन् । यस्ता मेलाहरूले शिक्षा क्षेत्रको मर्यादा, पारदर्शिता र उपभोक्ताको अधिकारमा प्रतिकूल प्रभाव पार्ने भन्दै इक्यानले सचेत गराएको हो ।
इक्यानका अध्यक्ष शेषराज भट्टराईद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, ‘यस प्रकारका मेलाले शिक्षा क्षेत्रको मर्यादा, पारदर्शिता र उपभोक्ताको अधिकारमा प्रभाव पार्न सक्ने भएकाले तत्काल प्रभावबाट रोकथाम तथा आवश्यक कारबाहीका लागि अनुरोध गर्दछौँ ।’