काठमाडौं, साउन २६ :

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय अन्तर्गतको ग्राजुएट स्कुल अफ एजुकेसन कीर्तिपुरले एम.फिल.२१औं व्याच दोस्रो सेमेष्टरको नतिजा परीक्षा सम्पन्न भएको ९ दिनमा मै प्रकाशित गरेको छ।

ग्राजुएट स्कूल अफ एजुकेसनवाट सञ्चालन भएको उक्त परीक्षामा  सय जनाभन्दा बढी विद्यार्थी सम्मिलित थिए ।
 
त्रिभुवन विश्वविद्यालयले समयमा शैक्षिक क्यालेण्डर लागु गर्न नसक्दा विभिन्न निकायहरूले लिएका परीक्षाका नतिजा समयमै प्रकाशन गर्न नसकेको आरोप लाग्ने गरेको छ । यस्तो आरोपका बीच शिक्षाशास्त्र सङकाय अन्तर्गत ग्राजुएट स्कुल अफ एजुकेसन कीर्तिपुरले एम.फिल.२१औं व्याच दोस्रो सेमेष्टरको विभिन्न आठ विषयहरुको नतिजा परीक्षा भएको ९ दिनमै प्रकाशित गर्न सफल भएको हो ।

ग्राजुएट स्कुल अफ एजुकेसनका निमित्त निर्देशक सह–प्राध्यापक डा. रविन्द्र शिवाकोटीका अनुसार नतिजा छिटो प्रकाशन गर्ने उद्देश्यले समयमै मूल्याङ्कन प्रक्रिया सम्पन्न गरी नतिजा प्रकाशन गरिएको जानकारी दिनुभयो । सम्भवतः त्रिभुवन विश्वविद्यालयकै इतिहासमा पहिलो पटक यति छिटो नतिजा प्रकाशन भएको उहाँले बताउनु भयो ।

ग्राजुएट स्कूल अफ एजुकेसन त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र सङकाय अन्तर्गत एम.फिल.तथा पिएचडी कार्यक्रम सञ्चालन गर्ने निकाय हो । यसको सिधा सम्पर्क उक्त सङ्कायको डीन कार्यालयसँग सम्बन्धित हुन्छ ।

शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयले सेमेस्टर प्रणालीमा आधारित विभिन्न विषयहरुको परीक्षाको नतिजा ९० दिन भित्र गरिरहेको शिक्षाशास्त्र सङ्कायका डीन प्रा.डा.वेदराज आचार्यले जानकारी दिनुभयो ।

शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयले हाल शिक्षाशास्त्र सङ्काय अन्तर्गतका पाठ्यक्रम,पाठ्यपुस्तक,तालिम र शिक्षण प्रणालीको नीति निर्माण लगायत काम गरिरहेको सो कार्यालयले जनाएको छ ।

डीन कार्यालयले अहिले बि.एड.तहको पाठ्यक्रम परिमार्जन गर्नको लागि पाठयक्रम परिमार्जन गर्नुको औचित्य अध्ययन गरिरहेको छ । पिएचडी,एम.फिल र एम.एड. तहको शोधपत्रको निर्देशिका, पाठयक्रम प्रारुप,शिक्षण तथा मूल्याङ्कन निर्देशिका तयार गरिसकिएको डीनको कार्यालयले जनाएको छ । डीन आचार्यका अनुसार अहिले शिक्षाशास्त्र  सङ्कायको समग्र पाठ्यक्रम प्रारुप बनाउने कार्य पनि भइरहेको छ । साथै हाल शिक्षक शिक्षा कार्यक्रम (teacher education program) को बिषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुसंग छलफल भइरहेको छ।

यस प्रकारको छलफलले पाठयक्रम परिमार्जनको सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यासहरु के कस्ता रहेछन् भन्ने विषयमा जानकारी लिन सहयोग पुग्ने तथा शिक्षक हुनका लागि शिक्षक शिक्षा कार्यक्रम किन आवश्यक छ भन्ने बुझ्न र बुझाउन सकिने शिक्षाशास्त्र सङ्कायका डीन प्रा.डा.वेदराज आचार्यले बताउनुभयो । साथै बि.स.२०६१ देखि २०८२ सालसम्मको पी.एचडी तहका शोधपत्रहरुको सारसंक्षेप (Abstract) तयार गरिसकिएको जानकारी डीन प्रा.डा. आचार्यले गराउनु भयो।