
काठमाडौं, साउन २२ :
फिफा महिला वरीयतामा नेपालले अप्रत्याशित सुधार गर्दै १३ स्थानमाथि उक्लिएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको नयाँ महिला फुटबल वरियतामा नेपाल १३ स्थानमाथि उक्लिँदै ८७औं स्थानमा पुगेको छ। नेपाल एसियाली राष्ट्रहरुमध्ये १६ औं स्थानमा छ ।
यो नेपाली महिला टोलीका लागि मात्र नभए र देशकै लागि पनि ऐतिहासिक सफलता हो । यसअघि नेपाल ९१औं स्थान भन्दामाथि उक्लन सकेको थिएन । यसअघि नेपाल १००औं वरियतामा थियो ।
नेपालले महिला एसियन कप छनोटमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । त्यसले पनि नेपालको स्थान सुधार गर्न मद्दत गरेको हुन सक्ने आकलन गरिएको छ ।फिफा वरियतामा स्पेन शीर्ष स्थानमा रहेको छ । पुरूषतर्फको वरियतामा भने नेपाल १७५औं स्थानमा छ ।