
सशस्त्र प्रहरीले काठमाडौं उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ ।
काठमाडौं उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी र ललितपुरको लेले तथा भक्तपुरको सानोठिमीमा मनसुन प्रतिकार्य बेस स्थापना गरिएको हो । विपद्मा नागरिकको उद्धार तथा सहयोगका लागि उक्त बेस स्थापना गरी काम गर्दै आएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता (सशस्त्र प्रहरी नायब महानिरीक्षक) कालिदास धौवजीले जानकारी दिए ।
कोसी प्रदेशअन्तर्गत मोरङको बखरी र ओखलढुङ्गाको हर्कपुर, मधेस प्रदेशस्थित सप्तरीको भारदह र बर्साइन, सिरहाको मिल, धनुषाको दुवरकोट, महोत्तरीको रघुनाथपुर र बनौटा, सर्लाहीको धरहरा, रौतहटको फतुवा, बाराको तेलकुवा र कलैया, पर्साको पोखरिया, बाग्मती प्रदेशस्थित मकवानपुरको सुनौला, काभ्रेको खालथोक र मङ्गलटार, नुवाकोटको खरानीटार, चितवनको भालढुङ्गा, दोलखाको लिङ्कन बजार र सिङ्गटी तथा रसुवाको तातोपानीमा बेस स्थापना गरिएको छ ।
त्यस्तै गण्डकी प्रदेशअन्तर्गत पर्वतको खहरे, गोरखाको आरुघाट, पूर्वी नवलपरासीको चोरमारा, कास्कीको छाचोक, लुम्बिनी प्रदेशस्थित बर्दियाको राजापुर, रुपन्देहीको बुटवल, बाँकेको कुण्डा र कचनापुर, गुल्मीको तुराङ्ग र पाल्पाको दोभानमा, कर्णाली प्रदेशस्थित जुम्लाको बड्की, मुगुको डिमुरखारा र जाजरकोटको दल्ली र सुदूपश्चिम प्रदेशस्थित कैलालीको खानी डाँडा र डोटीको बुडरमा मनसुन प्रतिकार्य सुरक्षा बेस स्थापना गरिएको छ ।
विपद्मा परेका आमनागरिकको उद्धारमा सहज होस् भन्ने अभिप्रायका साथ सशस्त्र प्रहरी बल नेपालले वर्षाको कारण जोखिमयुक्त क्षेत्रहरुको पहिचान गरी उक्त बेसहरुमा विपद् उद्वार सामग्रीसहितको सुरक्षा फौज तयारी हालतमा राखिएको जनाइएको छ ।
यसअघि सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्त्वपूर्ण भूमिका रहने भएकाले देशभरि एक लाख ६८ हजार ९५६ जना विपद् सूचक तयार गरेको छ । देशभर ९९० जनालाई विपद् स्वयंसेवक अनुशिक्षण तालिम दिइएको पनि उनले बताए ।