नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्ने कसरत भइरहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । अझै पनि माओवादीको बद्नाम गर्न १७ हजार भन्ने गरेको दाहालको भनाइ छ ।
आफूहरुले सहिदका सपना पूरा गर्न जुन स्तरबाट काम गर्नुपर्ने थियो त्यो हुन नसकेको महसुस गरेर अहिले सहिद, बेपत्ता परिवारका र आफ्नै वर्गमा फर्किएर काम सुरु गरेको उनले बताए ।
‘हामीलाई अहिले पनि बद्नाम गर्ने कसरत गरिरहेका छन् । १७ हजार तपाईं हामीले सुन्ने गर्दछौँ । हामीले हालै महान् सहिदलाई जुन स्तरबाट सम्मान गर्नुपर्थ्यो त्यसमा केही त्रुटि गर्यौं, हाम्रा सहिद परिवारका दुःख पीर, मर्का जति नजिकबाट हुर्नपर्ने थियो, त्यसमा र हाम्रा वर्ग समुदाय जसको बलमा क्रान्तिमा अघि बढेर यहाँसम्म आइपुगेका हौँ, हाम्रा विचार र राजनीतिक मुद्दामा कहीँ न कहीँ कमजोरी गर्यौँ भन्ने समीक्षा गरिएको छ,’ उनले भने ।
सहीदहरुको सम्मान गर्न आफूहरुबाट कमजोरी भएको महसस भएको पनि दाहालले जनाए । प्रतिक्रियावादी षड्यन्त्रविरुद्ध सहिदहरुका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेको उनले उल्लेख गरे । नेपालमा फेरि एकपटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिने उनको भनाइ छ ।
‘पार्टी बैठकहरुमा फेरि पनि प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध महान् सहिदहरुका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेका छौँ,’ अध्यक्ष दाहालले भने, ‘फेरि एकपटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अघि बढ्दै छौं ।’
अध्यक्ष दाहालले पार्टी विभाजन गर्न अनेक षड्यन्त्र गर्ने काम भइरहेको पनि दाबी गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रधानमन्त्री कार्यालयद्वारा पछिल्लो एक साताको कार्यप्रगति विवरण सार्वजनिक
प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई महासंघको आग्रह
निवर्तमान आईजीपी कार्कीद्वारा दायर रिट सर्वोच्चमा दर्ता, कात्तिक ३० गते पेसी