काठमाडौं, साउन १७ :

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संरक्षण नहुँदा नेपालका स्विट्जरल्यान्डजस्ता हजारौँ क्षेत्र ओझेलमा परेको बताएका छन् ।

काठमाडौंमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले शनिबार गरेको कार्यक्रममा उनले नेपाल सुन्दर मुलुक भएको बताएका हुन् । उनले यहाँ स्विट्जरल्यान्डजस्ता हजारौं क्षेत्र लुकेको बताए ।

नेपालको सौन्दर्य बचाइराख्न जरुरी रहेको पनि यादवको भनाइ छ । उनले आफ्नो जीवनकालमै चारकोसे झाडी, चुरे क्षेत्र मासिएको बताए । उनले यसले अहिले तराईमा खानेपानीको समेत हाहाकार रहेको जिकिर गरे । जलको भण्डार नै चुरे भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले चुरे संरक्षणमा जोड दिनुपर्ने धारणा राखे ।

‘नेपाल सुन्दर मुलुक छ । धेरै स्विट्जरल्यान्ड हाम्रो देशमा छन् । तर यो देशको संरक्षण छैन । चारकोसे झाडी खत्तम मेरै जीवनमा भयो । जंगल बेचेर पञ्चहरुले पहिला पैसा कमाउँथे । रातारात चुरे दोहन भइरहेको छ । तराईका आठ जिल्लामा पिउने पानीको हाहाकार छ । पूर्वी तराईमा पानी पर्दैन । जंगल छैन । चुरे पहाड खनेर लगेको छ,’ उनले भने, ‘चुरे खनेर लगिदिएपछि प्लान्ट कहाँ लगाउने ? जलको भण्डार भनेकै चुरे हो । नैतिक आचरण हामीले निभाउनुपर्छ । यो समाजलाई कसरी बनाउने, देशलाई कसरी बनाउने भनेर सोच्नुपर्छ ।’

पूर्वराष्ट्रपति यादवले नेपालको संविधान धेरै राम्रो रहेको र यसलाई बचाएर लैजानुपर्नेमा जोड दिए ।