
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित कार्यक्रममा उनले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने धारणा राखे । जातको आधारमा नभइ समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ ।
सबैलाई साथमा लिएर अघि बढ्नसक्ने नेतृत्व आवश्यक हुने पनि उनले बताए । उनले जातीय संकीर्णताले समाज र देश परिवर्तन गर्न नसक्ने पनि बताए ।
‘हामी सबै मिलेर पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता महसुस गरेका छौँ । नेपाल विविधताले भरिएको देश हो । जहाँ सबै जातजाति भाषा सबैको उच्च सम्मान गरिनुपर्छ । जातको आधारमा होइन, समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक छ,’ सभापति देउवाले भने, ‘नेतृत्व पनि यस्तो हुनुपर्दछ । जसले सबैलाई साथमा लिएर अघि बढ्न सकोस् ।’
उनले सबै नागरिकलाई समान व्यवहार प्राप्त हुनुपर्ने बताए । उनले भने, ‘जातीय संकीर्णताले समाज परिवर्तन गर्न सक्दैन । देशलाई अघि बढाउन सक्दैन । यो देश सबैको हो । सबै नागरिकलाई समान व्यवहार प्राप्त हुनुपर्दछ ।’