काठमाडौं, साउन १५ :

नेपालमा सन् २०२६ को आईसीसी महिला टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १६ सम्म सञ्चालन हुनेछ।

यो प्रतियोगिता हालसम्म नेपालले आयोजना गर्न लागेको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हो। छनोट खेलमा १० टोली सहभागी हुनेछन् । जसबाट शीर्ष ४ टोलीले इंग्ल्यान्ड र वेल्समा हुने टी-२० विश्वकप २०२६ मा स्थान बनाउनेछन्।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि ‘सुपर सिक्स’ र अन्त्यमा फाइनल खेल हुनेछ। प्रतियोगिताको तालिका आईसीसीले पछि सार्वजनिक गर्ने जनाएको छ।

बंगलादेश र आयरल्यान्डले २०२४ को विश्वकपमा खेलेको आधारमा स्वतः छनोट भइसकेका छन्। एसिया क्षेत्रबाट नेपाल र थाइल्यान्ड, अमेरिका क्षेत्रबाट अमेरिका छनोट भइसकेका छन्। बाँकी ५ स्थान अफ्रिका र युरोपबाट दुई-दुई तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोलीले पाउनेछन् ।

-तस्बिर : क्यान