काठमाण्डौँ , भदौ २९ :

काठमाडौँ महानगरपालिका- ३० स्थित ज्ञानेश्वरमा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ३२ वटै वडा मध्येको उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको छ । 

केन्द्र २०७८ साल चैत १ गतेदेखि सञ्चालनमा आएको हो। महानगरपालिकासँगको सम्झौतामा मानव स्वास्थ्य नामक सामाजिक संस्थाले सञ्चालनमा ल्याएको केन्द्र गत साउन १ गतेदेखि महानगरपालिकाले नै व्यवस्थापन गर्न थालेको छ ।

महानगरपालिकाका ३२ वटै वडामा सञ्चालनमा रहेका केन्द्रमध्ये उत्कृष्ट सेवा प्रदान गरेकाले महानगरले नै व्यवस्थापन गर्न थालेको निमित्त इन्चार्ज गीताकुमारी साउदले जानकारी दिनुभयो ।

महानगरले ३२ वटै वडाका केन्द्रलाई यस्तै स्वरूपमा चलाउन चाहेको छ ।

केन्द्रमा राम्रो ड्रेसिङको व्यवस्था भएकाले टोल छिमेकमै उपचार पाउँदा स्थानीयवासी हर्षित बनेका छन् ।
 
केन्द्रमा समय- समयमा महिलाका लागि पाठेघरको जाँचका लागि शिविरको आयोजना हुने गरेको छ । यसले धेरै महिलामा क्यान्सर छ कि छैन भन्ने थाहा पाउन सजिलो भएको छ ।

यसैगरी पुरुषको प्रोस्टेट क्यान्सरको पनि परीक्षण हुने गरेको छ । केन्द्रमा डेङ्गीको पनि निःशुल्क परीक्षण हुने गरेको छ ।

केन्द्रमा ९८ प्रकारका औषधि निःशुल्क वितरण हुन्छ । अन्य औषधिमा भने २५ प्रतिशत सहुलियतमा बिक्री हुने गरेको केन्द्रले जनाएको छ।