सिन्धुपाल्चाेक, साउन ७ :

रसुवा बाढीका कारण अलपत्र परेका २०५ जना नेपाली १६ दिनपछि तातोपानी नाका हुँदै बुधबार नेपाल फर्किएका छन्। फर्किएकामध्ये २ जना बालबालकासमेत छन्।

गत असार २३ गते भोटेकोशीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले रसुवा नाकास्थित मितेरी पुल बगाएपछि उनीहरू चीनतर्फ अलपत्र परेका थिए। चिनियाँ सुरक्षाकर्मीसहितको २० वटा गाडीमार्फत उनीहरूलाई केरुङबाट तातोपानी ल्याइएको हो।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार तिब्बतको न्यालामस्थित विदेश विभागका प्रतिनिधिमण्डलको पहलमा उनीहरूलाई उद्धार गरी नेपाली प्रशासनलाई जिम्मा लगाइएको छ।

तातोपानी आइपुगेपछि भोटेकोशी गाउँपालिकाले उनीहरूका लागि स्वास्थ्य परीक्षण र खानाको व्यवस्था गरेको छ। रसुवाको मितेरी पुल चीनतर्फ रहेको भाग बगाएकाले केरुङमा अड्किएका नेपालीलाई उद्धार गर्न नेपाल सरकारले निरन्तर पहल गरेको थियो।