काठमाडौं, साउन ७ :

नेपाल चिकित्सक संघले सरकारले सहमति कार्यान्वयनमा गरेको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएको छ। महासचिव डा. सन्जिव तिवारीद्वारा जारी विज्ञप्तिमा संघले सहमति कार्यान्वयन नगरे सरकारको विश्वसनीयता गुम्ने चेतावनी दिएको छ।

असार २४ गते प्रधानमन्त्रीको निर्देशनमा संघ र सरकारबीच उपभोक्ता संरक्षण ऐनलगायत कानुनी तथा नीतिगत विषयमा संशोधन गर्ने लगायतका तीन बुँदे सहमति भएको थियो। 

११ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यदल समेत गठन गरिएको थियो। तर, निर्धारित समय बितिसक्दा पनि प्रतिवेदन नआएको र कार्यदल निष्क्रिय रहेको संघको आरोप छ। संघले अबको आन्दोलन अझ सशक्त हुने चेतावनी दिँदै तत्काल सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।