काठमाडौं, साउन ६ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रदूत एवं पूर्वप्रधानमन्त्री बीपी कोइरालाको योगदानप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

नेपाली कांग्रेसका नेता तथा महामानवका रूपमा परिचित कोइरालाको ४३औं स्मृति दिवसका अवसरमा सुन्दरीजलस्थित बीपी संग्रहालय प्रांगणमा मंगलबार आयोजित ‘बीपी स्मरण कार्यक्रम’ मा उनले बीपी कोइरालालाई ‘नेपाली जनचेतना र अधिकारका प्रतीक’ का रूपमा स्मरण गरे ।

‘बीपी कोइराला अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्व मात्र होइन, उहाँको आदर्श, दृष्टिकोण र जीवनशैली आजको राजनीतिक सन्दर्भमा अझ सान्दर्भिक र प्रेरणादायी छन्,’ खड्काले भने । उनले बीपीले अपनाएको ‘राष्ट्रवाद, लोकतन्त्र र समाजवाद’ प्रतिको अटल आस्थालाई स्मरण गरे । उनले थपे, ‘बीपीले आफ्नो व्यक्तिगत जीवनको सुखसुविधा र  सुरक्षाभन्दा विचार र मूल्यलाई महत्त्व दिनुभयो, त्यही क्षणदेखि नेपाली राजनीति जनमुखी यात्रातर्फ अग्रसर भयो ।’

मन्त्री खड्काले बीपी कोइरालाको दीर्घसंघर्षले नेपाली जनतालाई ‘रैतिबाट मानिस’ बनाउने प्रक्रिया अघि बढाएको उल्लेख गरे । ‘बीपीले जेल, यातना र आत्मनिवेदन सहनुभयो तर जनताप्रति विश्वास गुमाउनु भएन। आज पनि उहाँले देखाएको बाटो हाम्रो मार्गदर्शक हो ।’

राज्यले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने दायित्वबोध बीपीको राजनीतिक दर्शनमा स्पष्ट रूपमा झल्किने बताउँदै मन्त्री खड्काले सम्पूर्ण जीवन नेपाली जनता र राष्ट्रहितमा समर्पित रहेको स्मरण गरे ।

ऊर्जा मन्त्रालयको नेतृत्व सम्हालिरहेका मन्त्री खड्काले बीपीको ‘आत्मनिर्भर राष्ट्र निर्माण’ को सोचसँग ऊर्जा क्षेत्रको विकासलाई पनि जोडे । उनले भने, ‘आज हामी ऊर्जा उत्पादन, प्रसारण र विस्तारमा आत्मनिर्भरतातर्फ लम्किरहेका छौं । बीपीले देखेको समृद्ध नेपालको सपना साकार पार्न सबैको साझा प्रयास आवश्यक छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमहामन्त्री डा. शशांक कोइराला, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू, प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे, केन्द्रीय सदस्य उर्मिला थपलिया, गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसालसहित स्थानीय जनप्रतिनिधि र बीपीका विचारप्रति आस्थावान् नेता-कार्यकर्ताको उल्लेखनीय उपस्थिति थियो ।

वक्ताहरूले बीपी कोइरालाको विचार र योगदानलाई वर्तमान राजनीतिक परिप्रेक्ष्यमा अझ सजीव र सशक्त रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याएका थिए ।