
स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालमा धेरै पार्टी भए पनि विचारमा अन्तर नरहेको बताएका छन् ।
बीपी स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले आज नेपालमा आर्थिक नीति कसको के हो ? भन्ने स्पष्ट रहेको बताए । उदारवादी अर्थतन्त्रको नीति नेपाली कांग्रेसले नै सुरु गरेको र सबैले विश्वास गरिरहेको नेता पौडेलको भनाइ छ ।
उनले नेकपा एमालेसहित अन्य नयाँ राजनीतिक दलहरुको पनि कुनै नयाँ आर्थिक नीति नरहेको स्पष्ट पारे । कांग्रेस विचार शून्यताको स्थितिमा नरहेको उनले बताए । ‘आज नेपालमा आर्थिक नीति कसको के हो ? भनेर भनिरहन पर्दैन । नेपाली कांग्रेस पार्टीले नै सुरु गरेको उदारवादी अर्थतन्त्रमा सबैले विश्वास गरेको स्थिति छ । नेपाली कांग्रेसको यो आर्थिक नीति हो । तर नेकपा एमालेका पनि यही आर्थिक नीति हो,’ उनले भने, ‘नयाँ पार्टीहरुको पनि यही आर्थिक नीति हो । नेपालमा पार्टी धेरै छ तर विचारमा अन्तर केही पनि छैन । बरु कांग्रेसले एकदमै धेरै स्पष्ट बनाउन नसकेको हो । कांग्रेस एकदमै विचार शून्यताको स्थितिमा छैन ।’
मन्त्री पौडेलले सरकारमा जाँदा पार्टीको फेहरिस्त कार्यान्वयन गर्ने सन्दर्भमा स्पष्टताको जरुरी रहेको धारणासमेत राखे ।