
भारतको ओडिसास्थित किट (केआईआईटी) विश्वविद्यालयमा दुई नेपाली छात्राको मृत्यु हुनुमा विश्वविद्यालय जिम्मेवार देखिएको छ । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) द्वारा गठित छानबिन समितिले विश्वविद्यालयको लापरबाही र गैरकानुनी गतिविधिलाई दोषी ठहर गरेको हो।
२० वर्षीया प्रकृति लम्साल फागुन ४ मा र १८ वर्षीया प्रिसा साह वैशाख १८ मा होस्टेलमा मृत फेला परेकी थिइन्। दुवै घटनामा यौन दुर्व्यवहारसम्बन्धी उजुरी दिए पनि विश्वविद्यालयले समयमा कारबाही नगरेको प्रतिवेदनमा उल्लेख छ।
समितिका अनुसार, विश्वविद्यालय प्रशासनले आरोपितलाई जोगाउन खोज्दै उजुरी बेवास्ता गरेको र उल्टै अवैध सम्झौता गर्न दबाब दिएको पाइएको छ। यदि पहिलो उजुरीपछि कारबाही भएको भए यी आत्महत्या टर्न सकिन्थ्यो भन्ने समितिको निष्कर्ष छ।
प्रतिवेदनमा विश्वविद्यालयको कार्यप्रणालीमा गम्भीर त्रुटि रहेको र प्रशासनको भूमिकाले आपराधिक गतिविधि गर्नेलाई प्रोत्साहन मिलेको ठहर गरिएको छ।