काठमाण्डौँ , भदौ २८ :

आइजिसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबीच सूचना प्रविधि (आइटी) क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता भएको छ ।

आज आयोजित सम्झौता कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । 

मन्त्री भण्डारीले वैदेशिक लगानीकर्तालाई प्रोत्साहन गर्दै सूचना प्रविधि क्षेत्रलाई प्रगति गराउन नेपाल सरकार तयार रहेको कुरामा जोड दिनुभयो । उहाँले यो सम्झौताले दुई राष्ट्रबीचको प्रविधि सम्बन्धमा नयाँ युगको सुरुवातको सङ्केत गरेको उल्लेख गर्नुभयो ।

आइजिसी बिजनेस होल्डिङका अध्यक्ष गणेशमान लामा र केइरिनकन कम्पनी लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यक्रम अधिकृत (सीइओ) सतोशी सातोले औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

दुवै पक्षले नेपाललाई डिजिटल रूपान्तरणको मार्गमा अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आइजीसीका अध्यक्ष लामाले आजको कार्यक्रम केवल सम्झौतापत्रमा हस्ताक्षरको मात्र नभइ नेपाल र जापानबीच सहकार्य, विकास तथा साझा दृष्टिकोणको यात्रा भएको बताउनुभयो ।

उहाँले सूचना प्रविधि क्षेत्रमा यो प्रतिबद्धताले नेपाललाई डिजिटल रूपान्तरण र प्राविधिक नव प्रवर्तनतर्फ लैजाने काममा सहयोग पुर्‍याउने बताउनुभयो ।

केइरिनकनका अध्यक्ष तथा सीईओ श्री सतोशी सातोले पनि यस संयुक्त लगानीप्रति आफ्नो उत्साह प्रकट गर्दै यो सहकार्यले व्यापारिक सम्बन्धलाई मात्रै नभइ नेपाल र जापानबीचको गहिरो द्विपक्षीय सम्बन्धलाई पनि मजबुत बनाउने बताउनुभयो । 

उहाँले यस साझेदारीको माध्यमबाट नेपालमा आफ्नो व्यवसाय विस्तार गर्ने इच्छा व्यक्त गर्नुभयो ।