
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र षड्यन्त्र गर्ने नेताहरूलाई कडा चेतावनी दिएका छन्। उनले विचार नमिल्ने भए पार्टी छोड्न पनि तयार हुनुहोस् भनी चेतावनी दिएका छन्।
झापाको मेचीनगरमा शनिबार आयोजित नगर अधिवेशनमा बोल्दै लिङ्देनले भने, ‘विचार मिल्छ, तर राजेन्द्र लिङ्देन मन परेन भने महाधिवेशनसम्म पर्खनुस्। विचार नै मिल्दैन भने चाहिँ बाटो तताउनुस्।’
केही दिनअघि राप्रपाका चार नेताले पार्टी कमजोर हुनुमा अध्यक्ष लिङ्देनकै कारण भनी दोष लगाएपछि उनले यस्तो कडा चेतावनी दिएका हुन् ।
लिङ्देनले सरकारमाथि पनि कडा टिप्पणी गरे। उनले अहिलेको ओली नेतृत्वको सरकारमा कसरी पैसा कमाउने होड चलिरहेको आरोप लगाए।
उनले भने,‘जनतालाई विदेश पठाएर, महँगी बढाएर, शरणार्थी बनाएर पनि कमाउने प्रवृत्ति देखिएको छ। अहिले सरकार भ्रष्टाचारको दलदलमा डुबेको छ।’
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको विषयमा बोल्दै उनले गम्भीर छानबिनको माग गरे।
राप्रपा र रास्वपाले यो विषयमा संसद् पनि बहिष्कार गरिरहेको उनले बताए। अख्तियारमा गएर भ्रष्टाचारविरुद्ध उजुरी दिने राप्रपा मात्र त्यस्तो एक पार्टी भएको दाबी गरे।
फाइल खोल्ने नाम आएपछि अन्य पार्टीहरु डराउने गरेको लिङ्देनको आरोप थियो ।