चितवन, साउन ३ :

पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)मा ११ वटा पुल निर्माण सकिएका छन् भने २ वटा निर्माणाधीन छन्। म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१ र २, रुदीखोला, हलेदीखोला, कालीखोला र कोत्रेखोलामा पुल निर्माण सम्पन्न भएको हो।

हाल कास्कीको विजयपुर र सेतीमा पुल निर्माण जारी छ। विजयपुर पुलको प्रगति ६०% पुगेको छ भने सेती पुलको प्रगति ४८% मात्र भएको आयोजनाका प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए। सेती पुलमा सब–स्ट्रक्चरको काम सकिएर अहिले सुपर–स्ट्रक्चर निर्माण भइरहेको छ।

६ लेनको पोखरा–सेती क्षेत्रमा बन्ने आकर्षक डिजाइनको दुई सिग्नेचर पुलमध्ये सेती पुल रसुवा कन्स्ट्रक्सनले २०७९ साउनमा जिम्मा लिएको थियो। डिजाइन स्वीकृति र संरचना हटाउने प्रक्रियामा ढिलाइ भएकाले प्रगति कम भएको जनाइएको छ।

एसियाली विकास बैंकको सहयोगमा करिब ९४ करोड रुपैयाँमा निर्माण भइरहेका यी पुलहरू कङ्क्रिट र फलाम प्रयोग गरेर निर्माण गरिंदै छन्।

२०७८ वैशाखदेखि सुरु गरिएको पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काममा पूर्वी खण्ड (जामुने–मुग्लिन)को भौतिक प्रगति ८६% पुगेको छ भने पश्चिम खण्ड (पोखरा–जामुने)को प्रगति ५५.१०% छ।

पूर्वी खण्डको ४१.४५ किमी दूरीमा कालोपत्र सकिए पनि सौन्दर्यीकरण र मार्किङ बाँकी छ। पश्चिम खण्डको ३८.८८ किमीमध्ये ३६.५ किमीमा पहिलो तहको कालोपत्र भएको छ, जसमध्ये २६.३८ किमीमा चार लेन नै कालोपत्र सम्पन्न भएको छ।

१०५ मध्ये १०३ वटा कल्भर्ट बनिसकेको र पश्चिम खण्डको ठेक्का म्याद पुस १६ मा सकिने प्रमुख कुँवरले जानकारी दिए। निर्माणमा अवरोध नआए आगामी हिउँदसम्ममा काम सकिने आयोजनाको भनाइ छ।