काठमाडौं, असार ३२ :

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन  फिर्ता लिएको छ । जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

पार्टीले उठाएका मुद्दामा  प्रधानमन्त्रीबाट सकरात्मक प्रतिक्रिया नआएपछि समर्थन फिर्ता लिने निर्णय भएको सांसद प्रकाश अधिकारीले जानकारी दिए ।

विशेषगरी जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको प्रमुख कारण भूमि अध्यादेश बनेको छ ।

जसपाले अस्वीकार गरेको विषय भूमि विधेयकमा यथावत राखेपछि ओली नेतृत्वको सरकारसँग रुष्ट बनेको हुँदै आएको थियो।

प्रतिनिधिसभामा जसपा नेपालका पाँच सांसद छन् भने राष्ट्रिय सभामा यो पार्टीका तीन सांसद छन् । यादवले समर्थन फिर्ता लिएपनि प्रधानमन्त्री  ‌ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत भने लिनुपर्ने छैन ।

जसपा नेपालले समर्थन फिर्ता लिँदा प्रतिनिधिसभमा सरकारलाई कुनै फरक नपर्ने भएपनि राष्ट्रिय सभामा भने सरकार अल्पमतमा पर्नेछ ।राष्ट्रिय सभामा अल्पमतमा परेसँगै सरकारलाई विधेयक पारित गर्न सकस हुनेछ ।

५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको पक्षमा कांग्रेसका १६, एमालेका १०, लोसपा १ र मनोनित १ सांसद मात्रै छन् । यसरी राष्ट्रिय सभाको सत्तापक्षमा २८ सांसद मात्रै छन् । यसअघि जसपा, नेपालले समर्थन गर्दा ३१ सांसद थिए ।अब राष्ट्रिय सभाको विपक्षमा बहुमत हुने भएको छ ।