
नेपाली कांग्रेसले भोटेकोसीमा आएको बाढीमा परेकाको उद्धार व्यवस्थित र प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।
कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले रसुवाको भोटेकोसीमा आएको बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले चीनको तिब्बततर्फबाट आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएर दुई देशबीचको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको घटनाले सबै नेपालीलाई मर्माहित बनाएको बताएका छन् ।
उनका अनुसार बाढीका कारण रसुवाको टिमुरे भन्सार यार्ड, त्यहाँ रहेका सामग्रीहरू र अन्य महत्त्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीहरूसमेत जोखिममा परेको खबरले थप चिन्ता सिर्जना गरेको उनले उल्लेख गरेका छन् ।
‘मानवीय क्षतिको आशंका र उद्धारमा देखिएको कठिनाइका कारण क्षतिको सम्पूर्ण विवरण अझै आइसकेको छैन,’ उनले लेखेका छन्, ‘सरकार, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षले उद्धार तथा राहत कार्यलाई उच्चतम प्राथमिकता दिनुपर्छ ।’
महतले उद्धार कार्य अझ प्रभावकारी र समन्वयित बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले संकटको घडीमा सरकारको सक्रियता निर्णायक हुने बताएका छन् ।
साथै उनले यो संकटको बेला प्रभावित परिवारहरू र सम्पूर्ण रसुवा क्षेत्रका नागरिकप्रति गहिरो सहानुभूति प्रकट गरेका छन् । ‘हामी सदैव तपाईंहरूको साथमा छौं,’ उनले लेखेका छन्, ‘हामी सबै एकजुट भएर यो विपत्तिलाई पार गर्नेछौं भन्ने दृढ विश्वास लिएको छु ।’