
एएफसी महिला एसियन कप २०२६ छनोटको अन्तिम खेलमा आज नेपाली महिला फुटबल टोलीले घरेलु टोली उज्बेकिस्तान विरुद्ध खेल्दैछ ।
तासकन्तमा हुने समूह चरणको अन्तिम खेलले अस्ट्रेलियामा अर्को वर्ष हुने एसियन कप खेल्ने एक टोलीको टुंगो लगाउनेछ।
खेल नेपाली समयअनुसार राति ९:१५ बजे सुरु हुनेछ।
समूह ‘एफ’मा नेपाल र उज्बेकिस्तान दुवैले लाओस र श्रीलंकालाई पराजित गर्दै समान ६ अंक जोडेका छन्। दुवै टोलीले १७–१७ गोल गरेका छन्। दुबै टोलीले कुनै गोल खाएका छैनन् । त्यसैले यो अन्तिम खेलको नतिजा नै निर्णायक हुनेछ।
नेपालले यदि यो खेलमा उज्बेकिस्तानलाई हराउन सफल भयो भने त्यसको प्रभाव एसियन कपसम्म सीमित हुनेछैन। महिला एसियन कप २०२६ मा एसियाका शीर्ष १२ टिमसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ।
प्रदर्शनकै आधारमा फिफा महिला विश्वकप छनोट २०२७ को पहिलो चरणमा पनि स्थान बनाउने छ। ओलम्पिक २०२८ एसियाली छनोट प्रक्रियाको ढोका पनि खुल्नेछ।