काठमाडौं, असार १८ :

एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीसँग तीन दिनभित्र स्पष्टीकरण दिन भनेको छ । पार्टीको अनुशासन आयोगले सार्वजनिक रूपमा नेतृत्व पुनर्गठनको मागसहित दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै झाँक्रीलाई स्पष्टीकरण सोधेको हो ।

पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार झाँक्रीले दिएको अभिव्यक्तिबारे तीन दिनभित्र लिखित जवाफ पठाउन निर्देशन दिइएको छ । ‘उहाँले जे बोल्नुभयो, त्यसमा स्पष्टीकरण सोधिएको हो,’ सचिव पाण्डेले बताए ।

झाँक्रीले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएको दाबी गर्दै पार्टी नेतृत्वको नै पुनर्गठन आवश्यक भएको धारणा सार्वजनिक गरेकी थिइन् । त्यस क्रममा उनले सिनो बोकेर अगाडि बढ्न सकिँदैन भन्ने अभिव्यक्ति दिएकी थिइन्, जसले पार्टीभित्र गम्भीर विवाद उत्पन्न गराएको छ । उनको अभिव्यक्तिले पार्टी अनुशासनको उल्लंघन भएको ठहर गर्दै अनुशासन आयोगले औपचारिक प्रक्रिया थालेको हो ।