काठमाडौं, असार ११ :

पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा अहिले ३ बजेबाट थुनछेक बहस सुरु हुँदैछ । उनको बयान सकिए लगत्तै थुनछेक बहस हुन लागेको हो । आज दिउँसो करिब २ बजे उनको बयान सकिएको थियो।

विशेष अदालतको इजलास नम्बर २ मा परेको उक्त मुद्दामा नेपाल आज आफैं अदालतमा उपस्थित भएका थिए। नेपालको पक्षबाट ११७ जना कानुन व्यवसायीले वकालतनामा दर्ता गरेका छन् भने सरकारको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित विशेष सरकारी वकिलको टोली बहसमा सहभागी हुँदैछ।

अख्तियारले सहन्यायाधीवक्ताको नेतृत्वमा सरकारी वकिलहरूको टोली तयार पारेको छ।पूर्वप्रधानमन्त्री नेपालको पक्षमा वकालतनामा गर्ने कानुन व्यवसायीको समन्वय अधिवक्ता परिवर्तन राईले गरिरहेका छन्। वकालतनामा भरेका अधिवक्तामध्ये वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद भण्डारी, गोविन्द बन्दी, रमणकुमार श्रेष्ठलगायत सहभागी छन्।

यद्यपि सीमित समयमा संक्षिप्त बहस गर्नुपर्ने भएकाले दुवै पक्षबाट केही छानिएका कानुन व्यवसायीहरूले मात्र आजको बहसमा भाग लिनेछन्।
नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। पूर्वप्रधानमन्त्री नेपालसँग मात्रै १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको छ।