काठमाडौं, असार ७ :

इजरायल-इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपालीलाई भारत सरकारले उद्धार गर्ने भएको छ ।

नेपाल सरकारको अनुरोधमा उनीहरुलाई इरानस्थित भारतीय दूतावासले उद्धार गर्ने भएको हो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा १६ नेपाली नागरिक रहेकाले  आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गरेकी थिइन् ।

‘इरानमा हाम्रा पनि सानो संख्यामा नेपाली नागरिक हुनुहुन्छ । यहाँहरुले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरिदिनुहोला भनी मैले भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत भारत सरकारलाई आग्रह गरेकी थिएँ । हामीहरु उहाँहरुको सहयोगको प्रतीक्षामा छौं,’ राणाले भनिन् ।

केही दिनयता जारी इजरायल-इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि राणाले भारत सरकारसँग यस्तो आग्रह गरेकी हुन् । यस प्रयोजनका लागि राणाले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिएकी थिइन् ।

इरानस्थित भारतीय दूतावासले नेपालको अनुरोध स्वीकार गरेपछि आजै परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरुलाई सम्पर्क गरी भारतीय दूतावासको सम्पर्कमा जान भनेको र इरानस्थित भारतीय दूतावासले पनि सो सूचना जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपालीहरु र  इरानस्थित भारतीय दूतावासका डीसीएम राखी मायूरीसँग सम्पर्क र समन्वय गरिरेको परराष्ट्रमन्त्री राणाको सचिवालयले दाबी गरेको छ ।

यससँगै भारतीय दूतावासले नेपाल र त्यहाँस्थित श्रीलंकाली नागरिकलाई पनि सम्पर्कमा आउन भनेको छ । १६ नेपालीमध्ये अध्यागमनसम्बन्धी कानुनका कारण पाँचजना नेपाली इरानी जेलमा रहेकाले उनीहरुलाई पनि जेलमुक्त गरी स्वदेश फर्काउने पहल मन्त्रालयले जारी राखेको राणाको सचिवालयले जनाएको छ ।