
नेपाली कांग्रेसले नेता ढुण्डीराज शास्त्रीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । केन्द्रीय कार्यसमितिको बुधबार बिहान बसेको आकस्मिक बैठकले कांग्रेसका नेता, पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
शास्त्रीको निधनबाट कांग्रेसले एक बौद्धिक, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको स्मरण गर्दै संगठन निर्माण र सुदृढीकरणमा पुयाएको योगदान, प्रजातन्त्रप्रतिको प्रतिबद्धता, समाजवादी विचारको प्रवर्धन तथा पार्टीका विभिन्न महत्त्वपूर्ण पदीय जिम्मेवारीमा रहेर निर्वाह गरेको नेतत्वदायी भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहने पनि शोक प्रस्तावमा उल्लेख छ ।
साथै कांग्रेसले शोकका कार्यक्रम पनि सार्वजनिक गरेको छ । ‘असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने, असार ५ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने तथा स्वर्गारोहणको १३औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने’ कार्यक्रम तय भएको छ ।
शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा गत असार २ गते निधन भएको थियो ।
अर्घाखाँचीको किमडाँडामा १९९३ जेठ २५ गते जन्मिएका शास्त्री पटक-पटक पार्टीका केन्द्रीय सदस्य हुनुका साथै २०४८ र २०५१ को आमनिर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बरर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
पार्टी कार्यालयमा बुधबार बिहान अन्तिम श्रद्धाञ्जलीका लागि नेता शास्त्रीको पार्थिव शरीर राखिएको थियो । उनको आजै अन्त्येष्टि गरिएको छ ।