
प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहँदा एमाले सांसद सूर्यबहादुर थापाले नाराबाजी गरिरहेका रास्वपा सांसदहरूको आचरणप्रति आपत्ति जनाउँदै नियमापत्ति गरेका छन्।
थापाले प्रतिनिधिसभा नियमावली २० को व्यवस्था उल्लङ्घन भएको भन्दै सभामुखको ध्यानाकर्षण गराए । उनले भने, ‘हामी रत्नपार्कमा छौं कि सहिदगेटमा, कलंकीमा कि पोखराको चिप्लेढुंगामा, बुझ्न सकिनँ।’ उनले रास्वपा सांसदहरू तर्फ संकेत गर्दै थपे, ‘माननीय सदस्यहरूका कुर्सी रोइरहेका छन्, कुर्सीले माननीय सदस्यहरू भेट्न पाएका छैनन् ।’
सभामुख देवराज घिमिरेले थापाको ध्यानाकर्षणमा प्रतिक्रिया दिँदै उनलाई बस्न आग्रह गरेपछि थापा बसे र माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले फेरि आफ्नो भनाइ राख्न थाले। त्यसपछि रास्वपा सांसदहरु पनि चुपचाप बसेका थिए।
शक्ति बस्नेतले धारणा राखिरहेका बेला चुप लागेर वेल अगाडि पलेंटी कसेर बसेका रास्वपा सांसदहरू थापा बोल्न थालेपछि फेरि नाराबाजीमा उत्रिएका थिए ।
भिजिट भिसा प्रकरणमा रास्वपाको वेल घेराउ, सभामुखले रोकेनन् बैठक [LIVE]
बैठक सुरु भएको जानकारी सभामुखले गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरू आ-आफ्नो स्थानबाट उठेका थिए।
बैठक नरोकिएपछि रास्वपा सांसदहरू वेल अगाडि नाराबाजी गर्दै पुगेका थिए भने राप्रपाका सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएका थिए । यद्यपि नाराबाजी र अवरोधका बीच संसदमा बजेटमाथिको छलफल भने निरन्तर जारी छ ।