
सभामुख देवराज घिमिरेले नेपालको वर्तमान निर्वाचन र शासन प्रणालीमा देखिएका कमजोरीहरूबारे गहिरो बहस हुनुपर्ने बताएका छन्।
शनिबार संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीको पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्ने कार्यक्रमका क्रममा उनले प्रभावकारी शासन प्रणाली निर्माणका लागि निर्वाचन प्रणाली सुधार आवश्यक रहेको बताए।
उनले वर्तमान निर्वाचन प्रणाली, आचारसंहिता र राजनीतिक दलहरूको भूमिकासँग सम्बन्धित समस्या पहिचान गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘निर्वाचनलाई निष्पक्ष, पारदर्शी र सहभागितामूलक बनाउन के गर्न सकिन्छ भन्नेबारे बहस आवश्यक छ।’
उनले बहुमतीय, समानुपातिक र अन्य प्रणालीका विकल्पबारे पनि छलफल आवश्यक रहेको बताए। ‘के पूर्ण समानुपातिक प्रणाली उचित हो त? कि एकल प्रणाली?,’ उनले भने, ‘यी विषयमा अब गम्भीर विवेचना गर्नुपर्छ।’
कार्यक्रममा उनले जनप्रतिनिधिले स्थायित्वसहित परिणाममुखी काम गर्न सक्ने वातावरण सिर्जना गर्ने खालको प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।