काठमाडौं, जेठ ३० :

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर सांसदहरूबीच चर्को विवाद भएको छ। सिंहदरबारमा शुक्रबार बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीको अभिव्यक्तिप्रति अन्य दलका सांसदहरूले आपत्ति जनाएपछि बैठकमा वाकयुद्धको स्थिति सिर्जना भएको हो।

बैठकमा सांसद पराजुलीले नेपालका नागरिकहरू राज्य संयन्त्रको मिलेमतोमा बेचिन बाध्य भएको भन्दै आफूहरूले छानबिन समितिको माग गरिरहेको बताएका थिए। उनले संसदीय समितिमा मानव तस्करीविरुद्ध उभिने केही सांसदहरू आफ्नो पार्टीको ह्विप मानेर निरीह भएर बस्ने गरेको आरोप समेत लगाए। यस्तै, भिजिट भिसा प्रकरण समितिको कार्यक्षेत्रभित्र परिसकेको भन्दै गृहमन्त्री र श्रममन्त्री समितिमा उपस्थित भई जवाफ दिनुपर्ने मागसमेत राखे।

तर उनको भनाइमा सत्तापक्षीय सांसदहरूले आपत्ति जनाए। नेपाली कांग्रेसका सांसद राजु थापाले यो विषय अख्तियारले छानबिन गरिरहेको हुँदा समितिको क्षेत्राधिकारभन्दा बाहिर रहेको दाबी गर्दै पराजुलीको अभिव्यक्तिप्रति कडा आलोचना गरे। थापाले विषयवस्तुसँग असम्बन्धित र आपत्तिजनक टिप्पणी गरिएको भन्दै सभापतिसमक्ष रुलिङको माग गरे।

विवाद यत्तिमा मात्रै रोकिएन। नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान) ले समेत पराजुलीको भनाइप्रति आपत्ति जनाउँदै, ‘मानव तस्करीविरुद्ध हामी पनि उत्रिएका छौँ, रास्वपा मात्रै यसको ठेकदार हो?’ भन्दै आक्रोश व्यक्त गरे।

विवाद चर्किँदै गएपछि समिति सभापति अब्दुल खानले बैठकको मर्यादा कायम राख्न आग्रह गर्दै सांसदहरूलाई विषयवस्तुभित्र रहेर धारणा राख्न अनुरोध गरे।

विवाद थामिनुको सट्टा झनै बढेपछि सभापति खानले फेरि बैठकलाई संयमित बनाउने प्रयास गरे। यद्यपि, बैठकको वातावरण निकै तनावपूर्ण बन्दै गएपछि हात हालाहालको अवस्था सिर्जना हुने अवस्था बनेको थियो।