
एमाले मधेश प्रदेशका सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
भवन निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा ठाकुरसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। धनुषा ३(२) बाट निर्वाचित ठाकुर एमाले संसदीय दलका उपनेता हुन्।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक सम्पत्तिको हिनामिना, हानी नोक्शानी गरी भ्रष्टाचार गरेको आरोपसहित मधेस प्रदेशका प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुर, औरही गाउँपालिका धनुषाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादव, तत्कालीन उपाध्यक्ष मिरादेवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुरलगायत १७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिए।
प्रतिवादीहरुलाई ६ करोड ७९ लाख १२ हजार ३ सय ८३ रुपैयाँ ९८ पैसा बिगो माग दाबी गरिएको छ।