
प्रधानमन्त्री केपी ओलीले काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दु विवाद र समाधनका उपायबारे ललितपुरको खोकना र बुङमतिका बासिन्दासँग छलफल गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको भेटमा ओलीलाई तत्कालीन खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डंगोल, नेकपा एमाले ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समिति संयोजक नेपाल डंगोल, एमाले ललितपुर महानगर वडा नं २१ कमिटीका अध्यक्ष ज्ञानभक्त महर्जनसहितले भेटेर समस्या र समाधानको विकल्पबारे सुझाएका हुन् ।
सरोकार समितिले खोकनामा सुरु विन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ ।
रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी र सेनाका प्रतिनिधिसमेत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट गरे । उनले समस्याको समाधानका लागि निर्णयमा पुग्नुअघि आफू एकपटक स्थलगत अवलोकनमा आउने जानकारी गराए ।
यसअघि प्रधानमन्त्री ओलीले गत माघ २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितमा आयोजनाको प्रगति र देखिएका समस्या समाधानका लागि छलफल गरेका थिए ।
कुल ७०.९७ किलोमिटरको दुई खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागतको यो सडक आयोजना २०७४ सालमा सुरु भएको हो । आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य छ ।