
लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासंग्रह ‘सत्यम्’ लोकार्पण भएको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज (शनिबार) वियोगीको कथासंग्रह ‘सत्यम्’ लोकार्पण भएको हो ।
कार्यक्रममा प्रा.डा.दयाराम श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए भने साहित्यकार प्रा.डा.गोविन्दराज भट्टराई, डा.अशोक थापा, अनुपमा रेग्मी, ज्ञानबहादुर कार्कीलगायत साहित्यिक स्रष्टा, पत्रकार, शुभचिन्तक सहभागी बने ।
साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कलम चलाउँदै आएका उनको यो पहिलो कथा-कृति हो।
पेज टर्नर प्रालिले प्रकाशन गरेको कथा-कृतिमा वियोगीले विशेषतः पश्चिम नेपाल अर्थात् गण्डकी पानीढलो, त्यसमा पनि स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्यका तथा माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित नेपाली समाजका अनेक पाटालाई उत्खनन् गरेको पेज टर्नरका कार्यकारी निर्देशक जयराम तिमल्सिनाले बताए ।
तिमल्सिनाका अनुसार यथार्थवादी धारका कथाहरूमा सामाजिक विभेद, असमानता तथा जनयुद्धका त्रासदी समेटिएका छन् । स्याङ्जाको टाकुरामा टेकेर उडेका भावना मध्यपश्चिम, सुदूरपश्चिम र पूर्वतिरसमेत डुल्न भ्याएका छन् । पर्यावरणीय चेत र वस्तुवादी धार कथाका मुख्य सार हुन् ।
झन्डै २ दशकदेखि पत्रकारितामा सक्रिय वियोगीसँग विगतमा नेपाल समाचारपत्र, नागरिक दैनिकलगायत विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा काम गरेको अनुभव छ । उनी अहिले ‘ऊर्जा खबर’ को सम्पादकको जिम्मेवारीमा छन् ।
साहित्य लेखनमा विशेष रुचि राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउँछन् । ‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’ मा उनको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम भएको थियो । उनको शब्द सिर्जनामा करिब एक दर्जन जति आधुनिक तथा लोक-आधुनिक गीत रेकर्ड भएका छन् । पुस्तक लोकार्पण कार्यक्रम महेश कार्की ‘क्षितिज’ले सञ्चालन गरेका थिए ।