
सरकारले यस वर्षको मनसुनजन्य पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना ०८२ पारित गरेको छ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२ औँ बैठकले कार्ययोजना पारित गरेको हो।
कार्ययोजनामा मनसुनको पूर्वानुमान, सम्भावित प्रभावित जनसङ्ख्या, पूर्व तयारी र प्रतिकार्य योजनासहित विभिन्न मन्त्रालय, विभाग र निकायहरूको भूमिका समेटिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जना मनसुनजन्य विपद्बाट प्रभावित हुने अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यो वर्ष अधिकांश स्थानमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ ।
प्रधानमन्त्रीको निर्देशन- मौसम पूर्वानुमान र सूचना प्रवाह सरल भाषामा सम्प्रेषण गर्नुस्
गत वर्ष असोजमा अविरल वर्षाका कारण चोभार गल्छी साँघुरो हुँदा बागमती नदीमा पानीको सतह बढेर नख्खु, कुशेश्वर, थापाथली, बल्खु लगायतका क्षेत्र डुबानमा परेको थियो। बैठकले यस्ता क्षति दोहोरिन नदिन सतर्कता अपनाउन निर्देशन दिएको छ।
चोभार गल्छीमा रहेको अवरोध हटाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिइएको र त्यसका लागि नेपाली सेनाको सहयोग लिने निर्णय भएको प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले जानकारी दिए।